Odapalika - The Fourth Estate - चौथो अंग
याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कार्यालय सहयोगी कुटे

काठमाडौँ । पाँचथर जिल्लाको याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमलन लिङ्देन (लिम्बु) ले आफ्नै गाउँपालिकाको कार्यालय सहयोगीलाई कुटेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिम्बुले कार्यालय सहयोगी छत्रप्रसाद सुवेदीलाई कुटेका हुन् । प्रमुख प्रशासकीय अधिकृत लिम्बुको कुटाइबाट आफूलाई चोट लागेको र अस्पतालमा उपचार गराएको सुवेदीले जानकारी दिए ।

‘असोज २१ गते उहाँ (प्रमुख प्रशासकीय अधिकृत लिम्बु) ले कुटपिट गर्नुभएको हो । उहाँको कुटाइबाट मलाई चोट लागेको थियो । अस्पताल गएर उपचार गरें । मेरो नम्बरको मोबाइलबाट एउटा म्यासेज आएको भनेर मलाई कुट्नु भएको थियो, बाँकी कारण थाहा भएन,’ सुवेदीले वडापालिकासँग भने ।

प्रमुख प्रशासकीय अधिकृत लिम्बुले कार्यालय सहयोगी सुवेदीलाई कुटेपछि सो विषय मिलाउन गाउँपालिकाका उपाध्यक्ष बाबा मेयाङ्बोलगायत सक्रिए भएका थिए । उपाध्यक्ष मेयाङ्बोकै सक्रियतामा प्रमुख प्रशासकीय अधिकृत लिम्बु र कार्यालय सहयोगी सुवेदीबीच मिलापत्र गराउने पहल भएको थियो ।

यद्यपि, उपाध्यक्ष मेयाङ्बोले सो विषय मिलाउन सकिनन् । र, अन्तिममा जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्दम्बेको समन्वयमा अहिले मिलापत्र भइसकेको छ ।

‘मेरो एउटा मोबाइल हराएको थियो । त्यही मोबाइलबाट एसएमएस आएको भनेर प्रमुख प्रशासकीय अधिकृतले मलाई कुट्नु भएको थियो । तर, म्यासेज के आएको थियो भनेर उहाँले मलाई मात्र होइन, अरु कसैलाई पनि देखाउनु भएन । हिजो हामी दुबै पक्ष जिसस प्रमुख रामराज आङ्दम्बेसँग बसेर मिलापत्र गर्याैं । अब कुरा मिल्यो,’ सुवेदीले भने ।

यो विषयमा प्रमुख प्रशासकीय अधिकृत लिम्बुसँग कुरा गर्न खोज्दा उनको मोबाइल अफ भएकोले सम्पर्क हुन भने सकेन ।

गाउँपालिकाका उपाध्यक्ष मेयाङ्बोले पनि अहिले विवाद समाधान भएको बताइन् ।

‘२१ गते घटना घटेछ । हामीलाई ढिलोगरी बेलुका ५ बजेतिर जानकारी आयो । मैले प्रमुख प्रशासकीय अधिकृतलाई जिसस प्रमुखकोमा लिएर गएर मिलापत्र गराएँ । प्रमुख प्रशासकीय अधिकृतले कुटेका कर्मचारीसँग माफी माग्नुभयो । कार्यालय सहयोगी भाइले पनि माफी दिनुभयो । अब विवाद मिल्यो,’ उपाध्यक्ष मेयाङ्बोले वडापालिकासँग भनिन् ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update