Odapalika - The Fourth Estate - चौथो अंग
२४ साउनमा विश्व आदिवासी दिवस मनाइने

काठमाडौं । आगामी २४ साउनमा २९औं विश्व आदिवासी दिवस मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष ९ अगस्टका दिन मनाइने विश्व आदिवासी दिवस यस वर्ष पनि सोही दिन मनाउने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए ।

महासंघको बैठकले विश्व आदिवासी दिवस मनाउन महासंघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा सचिवालयका पदाधिकारीहरू सदस्य रहनेगरी मूल समारोह समिति गठन गरेको छ । 

बैठकले विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गर्ने निर्णय समेत गरिएको महासंघका महासचिव दिवश राईले जानकारी दिए । 

उक्त समारोहमा विभिन्न जातीय समुदायहरूको झाँकी तथा ¥याली प्रदर्शन गरिने, फुड फेस्टिभलहरू आयोजना गरिने एवं विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने बताइएको छ । 

विश्व आदिवासी दिवसको सन्दर्भमा अन्य विभिन्न जातीय संघसंस्थाहरूसँग मिलेर साताव्यापी विभिन्न कार्यक्रम गरिने समेत महासंघले जनाएको छ । 

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्छन् । संयुक्त राष्ट्र संघले ९ अगस्टलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update