Odapalika - The Fourth Estate - चौथो अंग
रोङ गाउँपालिकाः जहाँका स्कुलमा २५ दिन विद्यार्थी पढ्छन्, १ दिन अभिभावक

काठमाडाैँ । नेपालमा सामुदायिक विद्यालय सुधारका लागि संघदेखि स्थानीय सरकारसम्मले राम्रो लगानी गरेका छन् । विद्यार्थी अनुपातमा शिक्षक दरवन्दी नहुने र अभिभावकले विद्यालयमा पढाउन नपठाउने आम समस्या नै छ । 

यो समस्याको हल गर्न इलामको रोङ गाउँपालिकाले भने गज्जवको आइडिया निकालेको छ । 

गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावकलाई नै पहिला जागरुक बनाउनु पर्ने भन्दै महिनामा एक दिन विद्यार्थीको सट्टा अभिभावकलाई पठाउने नीति लिएको छ ।

नगरपालिकाको पहलमा कक्षा ८ भन्दा माथिका विद्यार्थीले महिनामा १ दिन बिदा पाउनेछन् । त्यो दिन उनीहरुले घरमा अभिभावकले गर्ने काम गर्नुपर्नेछ भने अभिभावक भने सिक्नका लागि निस्कने छन् । 

तर अभिभावकले भने विद्यालयमा नभइ गाउँपालिकाले व्यवस्थापन गरेको स्थानमा गएर सिकाइ गर्नुपर्नेछ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोका अनुसार 

सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रम अघि सारेको हो । 

अभिभावकलाई सिकाउन पालिकाले सहजकर्ता नियुक्त गरेर उनीहरुलाई तालिम दिने छ । सहजकर्ताका लागि गरिएको आह्वानमा १५ जनाले आवेदन दिएको र उनीहरुलाई तालिम दिएपछि अभिभावकलाई ती सहजकर्ता र शिक्षकको सहायतामा तालिम, ज्ञान र अनुभव आदानप्रदान गरिने छ । 

अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिकाको  बैठकले अभिभावक शिक्षा सञ्चालन कार्यविधि समेत स्वीकृत गरिसकेको उनको भनाइ छ ।

याे पनि

रोङ गाउँपालिकाको लोभलाग्दो प्रगतिः जताततै होमस्टे, मौरीका घारसँगै गुन्द्रुकका परिकार

तालिमपछि सचेतनामूलक कार्यक्रम अघि बढाइने उनको भनाइ छ । शिक्षाको गुणस्तर सुधारका लागि अभिभावकको भूमिका महत्वपूर्ण रहने भएकाले अभिभावक शिक्षा लागू गर्न लागिएको अध्यक्ष स्याङ्बोले वडापालिकालाई जानकारी दिए ।

गाउँपालिकाले अभिभावकलाई विद्यालयमै बोलाएर पढाउने योजनाअनुसार महिनाको एक दिन विद्यालयमै ल्याएर पढाउने जनाएको छ । ‘अभिभावकलाई बोलाएको दिन भने कक्षा ८ भन्दा माथिका विद्यार्थीले घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्ने हुन्छ,’ स्याङ्वोले भने । 

गाउँपालिकाले यसअघि हरेक विद्यालयलाई कम्प्युटर उपलव्ध गराएको छ । शिक्षकहरुले अनिवार्य कम्प्युटर चलाउन जानेको हुनुपर्छ भन्ने मान्यताअनुसार कम्प्युटर खरिद गरेर विद्यालयलाई उपलव्ध गराइएको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update