Odapalika - The Fourth Estate - चौथो अंग
२ हजार टनेलका लोभलाग्दो कथा 

काभ्रे । केही बर्षयता काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–८ को नेसिला फाँटको परिचय फेरिएको छ । 

कर्मठ कृषकले फाँटलाई काभ्रे जिल्लाकै धेरै तरकारी उत्पादन गरेर सहरको पैसा गाउँ भित्र्याइरहेका छन् । फाँटमा बनेका टनेलभित्र उत्पादन भएका गोलभेँडा बेचेर दैनिक हजारौं रुपैयाँ गाउँ आइपुग्छ । 

टनेल बनाएर भाडामा लिएका जग्गाधनीले मात्र होइन, ढुवानी गर्ने यातायातका साधन, गोलभँेडा सहरसम्म लगेर बेच्ने व्यापारी, बीउदेखि मलसम्मको व्यवस्थापन गरिदिने सहकारी संस्थासँगै कृषक र कृषक परिवारले जिविकोपार्जन गरिरहेका छन् ।  टनेल खेतीमा लागेकामध्ये बालकृष्ण श्रेष्ठ सेनाको जागिर छाँडेर कृषिकर्ममा होमिएका व्यक्ति हुन् । ५ जनाको परिवार त्यही टनेलबाट बाँचेको छ । 

उनी कृषि कर्ममा जोडिएको २० वर्ष पुग्न लाग्यो । यसबीचमा उनले कृषिबाट नै सबैकुरा  जोडे । छोराछोरीलाई बोर्डिङ स्कुल भर्ना गरेका छन् । तरकारीको आम्दानीबाटै उनको २ तलाको पक्की घर बन्यो । 

गोलभँेडाको राम्रो भाउ लागे यसपालि अर्को तला थप्ने उनको योजना छ । १० रोपनी जग्गामा बनेको टनेलमा लटरम्म गोलभेँडा फलेका छन् । 

यो तरक्की त्यतिकै भएको भने होइन । हरेक दिन टनेल स्यहारमै बित्छ उनको परिवारको । एक क्रेट गोलभेँडाको २ सयदेखि २ हजार ३०० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनी बताउँछन् । 

गाउँका खेतभरी गोलभेडा उत्पादन भएपछि दङ्ग छन् ८६ बर्षका विष्णुप्रसाद बञ्जारा । उनलाई टनेल आम्दानीको भरपर्दो श्रोत हो भन्ने लाग्छ । 

रैथाने जातका गोलभेडा र तरकारीका बीउ नहुँदा त्यसले दीर्घकालसम्म असर पार्ने कुरामा ध्यान पु¥याउन सके प्रसस्त आम्दानी लिन सकिने उनको अनुभव छ । 

मामाभान्जा मिलेर काम सुरु गरेर तरकारी खेती गरेर  उदाहरणीय बनेका सालिकराम बञ्जारा र बसन्त थापाको मामा भान्जाको जोडी पनि दिनभर खेतमै हुन्छन् । तर यसो गर्दा गोलभेँडाको भाउ भने थाहा पाउन मुस्किल हुने उनीहरुको अनुभव छ । 

काठमाडांैमा पर्यटन व्यवसायमा १६ बर्ष लागेका बसन्तका भान्जा सालिकराम कोरोनाको कारणले कृषिमा आकिर्षत भएका को सुनाउँछन् । गोलभेडाको मूल्य निर्धारण भएमात्रै पनि किसानहरु यो पेशाप्रति थप आकर्षित हुने बञ्जारा बताउँछन् । 

अरुले टनेल राखेर गोलभेडा खेती सुरु गरेपछि आफूले पनि सुरु गर्र्दा टाउकोमा चाहिने औषधि भुडीमा हालेजस्तो बनेको बञ्जारा सुनाउछन् । 

‘सुरुमा केही थाहा थिएन कसैले राम्रोसँग बताएन । कृषकले प्राविधिक ज्ञान, बजारीकरण र मल र बीउकै समस्या भोग्नु नपर्ने हो भने तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ,’ उनी भन्छन् । 

२०० कृषकका २ हजार टनेल 

पनौती नगरपालिका–८ लामाडोलबाट नेसिला फाँटतर्फ हेर्दा आँखा देखिने जति ठाउँमा टनेल खेती छ । अधिकाशंले गोलभेडा रोपेपनि केहीले ताजा तरकारी पनि लगाउँछन् । मौसम अनुसारको नगदे बाली लगाइन्छ । 

यो फाँटमा २ सय जना कृषकका २ हजार टनेल छन् । जहाँबाट दैनिक लाखौं रुपैयाँ आम्दानी भइरहेको छ । 

गाउँमा तरकारी उत्पादनका आधार बढेपनि अर्गानिक बनाउन प्रयास थाल्न आवश्यक रहेको मामा भान्जा कृषि फार्मका बसन्त थापा बताउँछन् । उनीहरुले आफूहरुले सो कार्यको सुरुवात गरिसकेकाले सबै कृषकले साथ दिन आवश्यक रहेको बताए । बिषादीको सट्टा जैविक बिषादीको प्रयोग बढाउन उनीहरुले सुझाव छ । 

सच्चा साथी मध्यमार्ग कृषि सहकारी 

रासायनिक मल होस् या कृषियन्त्र । मध्यमार्ग कृषि सहकारीले किसानसँग सहकार्य गर्दै कृषकको सच्चा साथी बनेको छ । कृषकले समयमै आवश्यक दिलाउन सहकारीका अध्यक्ष प्रदिप केसी कम्मर कसेर लागेका छन् । 

काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ र ८ का कृषकहरुका लागि मध्यमार्ग कृषि सहकारी संस्थाले कृषि सामाग्री वितरण गर्दै आएको छ । सहकारीमा आबद्ध कृषकहरुका लागि ट्याक्टर, सानो ठूलो टनेल, स्प्रे र  मल्चिङ्ग वितरण र रासायनिक मल उपलब्ध गराउँदै आएको छ । 

समुदायस्तरमा कृषि प्रविधि, कृषि प्राविधिक र बजार व्यवस्थापनका बारेमा योजनाबद्ध रुपले कार्य गरिरहेको सहकारीले कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरणमा साथ दिइरहेको छ । 

सहकारीका अध्यक्ष प्रदिप केसीले आफू कृषक भएको र कृषककै लागि सहकारी मार्फत समृद्धिको काम गरिरहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update