Odapalika - The Fourth Estate - चौथो अंग
मृत अवस्थामा भेटिए जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर पौडेल 

काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन् । 

बिहीबार साँझ जितपुर सिमरा–२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । 

घरमै मृत भेटिएका पौडेललाई हृदयघात भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले मध्यरातमा उनको शव पोष्टमार्टमका लागि अस्पताल लगेको छ भने पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन । 

पौडेल अघिल्लो कार्यकालमा एमालेका तर्फबाट निर्वाचित मेयर हुन भने उनी एमाले मधेश प्रदेशका पूर्वसचिव पनि हुन् । हालै सम्पन्न प्रदेश अधिवेशनमा भने उनको सहभागिता थिएन। 

उनका परिवार काठमाडौँ बस्छन् । घरमा एक्लै थिए । प्रदेश अधिवेशनमा जाने भन्दै काठमाडौँबाट फर्किएका उनी अधिवेशनमा भने नपुगेको नेताहरुले बताएका छन् । उनको घरमै अडिट फर्म छन् । मृत भेटिनु २ दिन अघिदेखि उनी घरको तल रहेको अफिसमा पनि नआएको कर्मचारीले बताएका छन् ।

घरको कोठामा जाने चेन गेटमा बाहिरबाट ताला लगाएको थियो । परिवारका सदस्यका अनुसार उनी डिप्रेसनको औषधि सेवन गरिरहेका थिए । सहकारी अभियन्तासमेत रहेका उनी जिल्लामै चर्चित नेताका रुपमा परिचित थिए ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update