Odapalika - The Fourth Estate - चौथो अंग
कक्षा ११ का लागि खुल्यो छात्रवृत्ति, यसरी दिन सकिन्छ आवेदन 

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कक्षा ११ का विद्यार्थीका लागि आह्वान गरेको छात्रवृत्तिका लागि एक सातामै १ हजार ८३ जनाको आवेदन परेको छ । 

महानगरपालिकाले २८ असार विहान १० बजेबाट खुला गरेको आवेदनमा हालसम्म सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन् । दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन् । यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ । 

प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको छ । 

विद्यालयहरुबाट चारित्रिक प्रमाण पत्र दिन कुनै न कुनै कारणले ढिला भएकोले आवेदन दिन कठिन भएको गुनासो आएपछि चारित्रिक प्रमाण पत्र विना पनि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ । १२ साउनको मध्यरातसम्ममा विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन पाउने छन् । 

कसरी भर्ने अनलाइन आवेदन? 

काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np  वा http://entrance.kathmandu.gov.np  मा छात्रवृत्ति आवेदन फाराम छ । 

फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो समेत राख्नुपर्छ । कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै अनुसूचीमा राखिएका शिफारिस पेश गर्नुपर्छ । तोकिएको आरक्षित समूहमा फाराम भर्नेले आरक्षणको प्रमाण पत्र पेश गर्नुपर्छ । 

पेश भएका विवरणहरु झुठो ठहरिए त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द हुनेछ । भर्ना भइसकेपछि जानकारी भए भर्ना रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्काशन गरिनेछ । 

अनलाइन फाराम भर्दा एसईई प्रवेश पत्रको विवरण भरेपछि मात्र मुख्य फारम खुल्नेछ । विवरण गलत भए फारम खुल्दैन । मुख्य पेजमा आफूसँग सम्बन्धित विवरणहरू माग गरिएअनुसार भर्नुपर्नेछ । माग गरिएका सवै विवरणहरू भरेपछि स्वघोषणा स्वीकार गर्नुपर्छ । यसो नगरे फाराम सुरक्षित हुँदैन । 

आवेदन फारम अनलाइन पेस भएपछि सुनिश्चित गर्ने पृष्ठ देखिनेछ । यो पेजलाई प्रिन्ट गर्न र डाउनलोड गर्न सकिन्छ । 

छात्रवृत्तिमा आवेदन दिन एसईईमा न्युनतम १.६ जीपीए ल्याएको हुनुपर्नेछ । सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नुपर्छ । 

निजी विद्यालयबाट उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन शिफारिस गर्नुपर्छ । 

छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०५, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५५, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९५, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । 

बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३५, आदिबासी र जनजातिलाई १५५, मधेसीलाई १२५, खसआर्यलाई १७५ आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए । 

उनका अनुसार दलितलाई ९५, मुस्लिमलाई २५, थारुलाई ४५, अपाङ्गता भएको व्यक्तिलाई  २५, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४५, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २५ छात्रवृत्ति दिइनेछ । 

पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ । 

आरक्षित समूहमा उम्मेदवार हुन चाहने व्यक्तिले आफू सो समूहमा पर्ने व्यहोरा प्रमाणित हुने कागज पेश गर्नु पर्नेछ । सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाको परिवार र द्वन्द्व पीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिफारिस प्राप्त गर्नुपर्छ । 

पिछडिएको क्षेत्रका व्यक्तिले सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्दा दरखास्त दिंदाका बखत निज सोही स्थानमा स्थायी बसोबास गरेको भनी प्रमाणित गरेको हुनुपर्नेछ । त्यस्तो 

घाइते वा अपाङ्गता भएका व्यक्तिले आवश्यक अन्य सिफारिसको अतिरिक्त दर्तावाल चिकित्सकबाट निज सो विषय अध्ययन गर्न सक्षम भएको व्यहोरा सहितको सिफारिस आवेदन साथ पेस गर्नुपर्छ । 

छात्रवृत्ति परीक्षा हुने मितिभन्दा २ दिन अघिदेखि प्रवेशपत्र प्रिन्ट गर्ने बटनमा थिचेर त्यहाँ माग गरिएको विवरण भर्नुपर्छ । यसपछि विद्यार्थी आफैँले प्रवेश पत्र प्रिन्ट गर्न सक्नेछन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update