Odapalika - The Fourth Estate - चौथो अंग
कोशी सत्ता संकटः प्रदेश प्रमुखको कार्यालयमा सुरु भयो हस्ताक्षर सनाखत प्रक्रिया 

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयले आज सांसदहरूको सनाखत सुरु गरेको छ ।

आज बिहान ८ देखि सुरु भएको सनाखत दिउँसो २ बजेसम्म जारी रहने छ । त्यसपछि दाबीकर्तामध्ये १ जनालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुखको तयारी छ । 

सरकार गठन गर्न कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समय सकिएलगत्तै मुख्यमन्त्री नियुक्तिको दाबी गरेका सत्तारुढ कांग्रेस संस्थापन इतर पक्षका सांसद केदार कार्कीसहित ४७ जना सांसदले उनलाई नियुक्ति गर्न दाबी गरेका हुन् । 

नेकपा एमालेका ३९ जना र नेपाली कांग्रेसका आठ जना सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त गर्न कार्कीले दाबी प्रदेशप्रमुख समक्ष दाबी पेस गरेका थिए । 

शुक्रबार दिउँसो नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका नेता केदार कार्की र उनका समर्थनमा हस्ताक्षर गर्ने ७ जना सांसदलाई हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

केन्द्रमा बसेको सत्तारुढ गठबन्धनको बैठकले भने प्रदेशमा एमालेसँग मिलेर सरकार बनाउने विषय मान्य नहुने निणर्य गरेको छ । नेकपा माओवादीले प्रदेशको नेतृत्वको लागि अघि सारेको सदस्यलाई ब्याक गरेर कोशीमा कांग्रेसलाई नेतृत्व दिनेमा सहमति जनाएको छ । तर, कांग्रेसभित्रको संस्थापन पक्ष र इतरबीचको असमझदारीले कोशीको राजनीति झन जटिल बन्दै गएको छ । 


 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update