Odapalika - The Fourth Estate - चौथो अंग
नौरथा सुरू, आज घरघरमा जमरा राखिँदै 

काठमाडौँ । नेपालीहरुको महान पर्व बडादशैं आज घर घरमा घटस्थापना गरी प्रारम्भ हुँदैछ । हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौं वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै नौरथा सुरु हुन्छ ।

नेपाल संञ्चाङ्ग निर्णयक समितिले यो वर्ष ११ बजेर २९ मिनेटमा घडा स्थापनको उत्तम साइत रहेको जनाएको छ । सो साइतमा घरघरमा वा दशैं घरमा घटस्थापना गरेपछि बडादशैं प्रारम्भ भएको हुन्छ ।आज विधिवत रुपमा चोखोनिधो गरी दशैं घर वा पूजाकोठामा चोखो बालुवा या माटोमाथि जौ,वा मकै छरेर जमरा राखिन्छ । 

भगवान श्री रामचन्द्रले रावणमाथी विजय हासिल गर्ने उदेश्यले शक्तिप्राप्तीका लागी शक्तिस्वरुपा भगवतीको आह्वान गरेको सम्झनामा हिन्दुधर्मावलम्बीहरु आज घटस्थापना गर्ने गर्दछन् ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जौ छरेर जमरा उमार्ने र आज रोपेको जमरा विजया दशमीका दिन मान्यजनहरुबाट टीका ग्रहण गर्दा लगाईन्छ ।

दशैंको टिका लगाउँदा समृद्धिको प्रतिकको रुपमा पहेँलो जमरालाई प्रयोग गरिन्छ । 

घटस्थापनाको उपलक्ष्यमा आज हनुमान ढोका दरबारमा रहेको दशंैघरमा वैदिक बिधिपुर्वक जमरा राखी महाकाली, महालक्ष्मी,महासरस्वती लगतायत नवदुर्गा र अन्यशक्तिपिठहरुमा नवरात्रीको पुजाको शु्भारम्भ हुन्छ ।

नवरात्री भर घर तथा भगवतीका मन्दिरमा चण्डी र भगवती स्तोत्र पाठ गर्ने, दुर्गा सप्तशती चण्डी, श्रीमद्भागवत गीता ,देवी स्तोत्रहरुको पाठ गर्ने प्रचलन छ । 

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, पलाञ्चोक भगवती,नाला भगवती, मनकामना, छिन्नमस्तालगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्न भक्तजनको भीड लाग्छ ।
 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update