चितवन । चितवनको एतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० को कार्यक्रममार्फत आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको हो । माडी नगरपालिका–१ र नवलपरासी सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिकाले विनियोजन गरेको ५/५ लाख रुपैयाँको लागतमा यो व्यवस्था गरिएको हो ।
वाल्मीकि क्षेत्रका ७ ठाँउमा खानेपानीको धारा निर्माण गरिएको माडी–१ का वडाध्यक्ष अमितकुमार लामाले बताए । उनका अनुसार महिला पुरुषका लागि छुट्टछुट्टै शौचालय निर्माण गरिएको छ । यसअघि चापाकलको पानी खानुपर्ने बाध्यता थियो ।
वाल्मीकि आश्रम क्षेत्रमा १२ घरपरिवार बस्दै आएका छन् भने मन्दिरका पुजारीका परिवार, जनपथ प्रहरी, सशस्त्र प्रहरी र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका कर्मचारी बस्दै आएका छन् ।
यहाँ दैनिक सयौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । नेपालबाट भन्दा धेरै भक्तजन भारतबाट दर्शनका लागि आउने गरेको वडाध्यक्ष लामाले बताए ।
उनले वाल्मीकि आश्रम नेपालकै महत्वपूर्ण एतिहासिक तथा धार्मिक तीर्थस्थल रहेकाले वडाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम गरिरहेको जानकारी दिए ।
वाल्मीकि आश्रम पुग्न नवलपरासी पश्चिमको त्रिवेणीबाट झोलुङ्गे पुल निर्माण गरिएको छ तर सञ्चालनमा आएको छैन । पुलबाट ४१ सय मिटर बाटो बनाउनुपर्ने जनाउँदै उनले यस वर्ष बजेट विनियोजन भएको जानकारी दिए ।
चितवनको माडी नगरपालिकामा रहे पनि आश्रम जानको लागि नेपालको भूमिबाट बाटो नहुँदा आश्रमको विकास हुन सकेको छैन । आश्रम जानको लागि भारतको भूमि प्रयोग गरेर जानुपर्ने भएको कारण पनि आश्रममा नेपालीभन्दा भारतीय बढी आउने गरेको स्थानीय राम सुवेदीले बताए ।
महर्षि वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास जाँदा यहाँ पुगेको र लव, कुशलाई जन्म दिएको विश्वास गरिन्छ ।
यहाँ महर्षि वाल्मीकी, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाण यत्रतत्र छरिएर रहेको र त्यसको सरक्षण हुन नसकेको उनले बताए ।