Odapalika - The Fourth Estate - चौथो अंग
गाउँ पसेको बसलाई गलबासीको सगुन  

काठमाडौँ । आज बडादशैँको घटस्थापना । धेरै मानिसलाई घटस्थापना गर्ने, पूजा कोठा सिँगार्ने, जमरा राख्ने कामको चटारो भयो ।

अरूलाई जमरा राख्ने चटारोको बेला रामेछापको खाँडादेवी गाउँपालिका–८ गा गलबासीलाई घटस्थापनाको चटारोसँगै अर्को चटारो पनि थपियो । गाउँमा आएको बसलाई पूजा गर्ने, बसमा आएका चालक, सहचालकलाई खादा माला लगाएर स्वागत गर्ने चटारो थियो गाउँवासीलाई । 

गागलमा सडक बनेको धेरै भयो । गागलको महाकालीथानसम्म सुमो पनि चल्छ । तर सुमोमा धेरै मानिस नअटाउने । सोझै काठमाडौँ जाने मानिसले सुमो भरिएपछि गाउँका मान्छे सडक बने पनि पैदल नै हिँड्नुपर्ने । ‘सडक केही साँघुरो थियो, यस पटक मर्मत गर्दा मोडमा केही सुधार गरेर ठूला बनायौँ र बस चल्न सक्ने भयो’, खाँडदेवी–८ का वडाध्यक्ष जंगलाल तामाङले भने । 

गाउँमा बस आउने भएपछि बिहानदेखि गाउँलेहरू सगुन तयार गरेर बसेका थिए । गाउँमा गाडी पुग्ने बित्तिकै गाउँलेहरू जम्मा भएर बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । सबै गाउँले जम्मा भए । चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए, गाउँलेले पनि सगुन खाएर खुसीयाली मनाए । 

गागलबासीलाई काठमाडौँ जान पाए सुमो नपाए बस चढ्न गाउँबाट तलसम्म झर्नुपर्थ्याे । अझ सदरमुकाम मन्थली आउनेले त ट्रक चढेर जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो । अब गाउँमा बस पुगेपछि बसमा यात्रा गर्न पाउने भएका छन् । 

काठमाडौंबाट खाँडादेवीको फुल्पा हुँदै जाने बस गागलको महाकालीथानबाट चिरंखुसम्म पुग्छ । जसले गर्दा गाल मात्रै होइन दोरम्बा गाउँपालिकाका केही वडाका स्थानीयलाई समेत आवागमनमा सहज र छोटो यात्रा हुने भएको छ । ‘नियमित बस चल्ने भएपछि स्थानीयलाई धेरै सजिलो हुने भएको छ’, स्थानीय गोपाल थोकरले भने । 

चिरंखुबाट अब दैनिक बस सेवा सञ्चालन हुने वडाध्यक्ष जंगलालले बताए । ‘खाँडादेवी यातायात समितिलाई कुरा गरेका छौँ, अब दैनिक बस सेवा सञ्चालन हुन्छ, स्थानीयलाई काठमाडौं आउजाउ गर्न धेरै सजिलो हुन्छ’, उनले भने । 
 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update