Odapalika - The Fourth Estate - चौथो अंग
आज दसैँको दोस्रो दिनः ब्रह्मचारिणीको पूजा आराधना, शक्तिपीठमा घुँइचो

काठमाडौँ । बडादसैँको दोस्रो दिन आज नवदुर्गामध्ये नवदुर्गाको दोस्रो स्वरुप ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिँदै छ । यिनलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने गरिन्छ ।

दाहिने हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीकका रुपमा पुजिन्छ । 

देवीका ३ रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाअर्चना गरी प्रसंन्न पार्ने गरिन्छ ।

देवी ब्रह्मचारिणीको पूजाआराधना गर्न भक्तजनहरू बिहानैदेखि विभिन्न देवी शक्तिपीठमा पुगेका छन् ।

नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा अर्चना र आरधना गर्ने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update