Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरपालिकाको सोच प्रदर्शनी भोलि 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी आयोजना गर्ने भएको छ । यसका लागि पहिलो चरणबाट विजेता बनेका शीर्ष ५० सोचका टोली नेताहरूलाई आगामी कार्यक्रमका बारेमा अभिमुखीकरण गरिएको हो । 

अभिमुखीकरण कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले आर्थिक विकासका लागि महानगरपालिकाको सहजीकरण योजनाका विषयमा जानकारी गराउँदै, सोच र लगानीको भेट गराउने लक्ष्य रहेको उल्लेख गरे ।

यसबाट लगानीकर्ताले नयाँ योजना पाउनेछन् । नविन सोचलाई उद्यमका रुपमा विकास गर्न नसकेका युवाहरुले लगानीकर्ता पाउनेछन् । ‘यसबाट युवा र रोजगारीको क्षेत्रबाट आर्थिक विकासमा टेवा पुग्नेछ,’ राजभण्डारीले भने । कार्यक्रममा योङ् इनोभेसनका अध्यक्ष विभुषण विष्टले सोचलाई आर्थिक उपार्जनमा प्रयोग गर्न सकिने प्रशस्त ठाउँ रहेको बताए । 

३० असोजमा राष्ट्रिय सभा गृहमा नविन सोचको बजारीकरण सम्बन्धी प्रदर्शनी हुनेछ । त्यसपछि सोचलाई लगानीका लागि थप परिपक्व बनाउन तालिम दिइनेछ । आयोगकी सहायक विज्ञ अग्मा मालाकारका अनुसार अन्तिम चरणमा टेलिभिजन शो गरिनेछ । 

यसमा सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी गराइन्छ । यसरी अन्तरक्रिया गराउनु ‘स्पीड डेटिङ्’ विधि हो । यो ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ । 

आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ हो । नवप्रर्वतक, उद्यमी व्यवसायीको  सिप तथा ज्ञान अभिबृद्धि गर्दै लगानीकर्तासँग जोडिन्छ । नविनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर वेरोगजारीसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य हो ।

महागनगरले गत २ जेठमा पहिलो पटक सूचना प्रकाशित गरेर आवेदन आव्हान गरिएको थियो । यस अवधिमा ७८६ जनाले आवेदन दिएका थिए ।  

असार महिनामा दोस्रो चरणका लागि अन्तिम ५० समूह छनौट गरिएको थियो । यस चरणमा प्रतिस्पर्धाका लागि समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा ७ वटा, सामुदायिक सेवामा २३ वटा, आर्थिक सामाजिक क्षेत्रमा १९ वटा र सहरी पूर्वाधारमा २० वटा गरी १०१ सोच छानिएका थिए । जसमा ७८ वटा समूह र २३ जना व्यक्ति थिए । 
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update