Odapalika - The Fourth Estate - चौथो अंग
१५ करोड ३८ लाखकाे भवनबाट सेवा दिन थाल्याे टाेखा नगरपालिका

काठमाडौँ । टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन बनेको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार रुपैयाँ लागतमा सो भवन बनेको हो । 

नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने बताए । ‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, । संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवा प्रवाह गर्न आग्रह गर्दछु’, उनले भने । 

टोखा नगर प्रमुख अधिकारीले टोखाको विकासका लागि नगरपालिका लागेको जनाउँदै सबैले साथ र सहयोग गर्न आग्रह गरे । उनले छरिएर रहेको सेवालाई नयाँ भवन निर्माणसँगै एकै ठाउँबाट प्रवाह गरिने बताए ।

१२ माघ, २०७६ मा सम्झौता भएर २८ फागुन, २०७६ मा शिलान्यास गरी निर्माण सुरु गरिएको उक्त भवन सम्झौता भन्दा ढिलो गरी निर्माण भएको छ ।

अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले जग्गा, स्रोत साधनका अभावका कारण समयमै निर्माण सम्पन्न गर्न कठिन भएको बताए । २०७८ सालमै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको उक्त भवन २ ढिला गरी गत २५ असारमा मा सकिएको हाे । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update