Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले ल्यायो युथ स्टार्टअप लक्षित कार्यक्रम 

ललितपुर । ललितपुर महानगरले महानगरभित्रका युथ स्टार्टअपलाई दक्ष बनाउन कार्यक्रम ल्याउने भएको छ । महानगरले ग्लोबल स्टाट अप नेटवर्क साउथ कोरिया, इन्टरनेशनल लिडरसिप ट्रेनिङ सेन्टर नेपाल, स्टार्टअप सपोर्ट फाउन्डेसन अफ जियोङसाङग नेशनल युनिभर्सटीसँग सहकार्य गरी उक्त कार्यक्रम ल्याउने भएको हो । 

महानगर प्रमुख चिरीबाबुले यो कार्यक्रमका लागि समझदारी पत्रका हस्ताक्षर भएको जानकारी दिए । कोरिया भ्रमण गएका बेला समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । उनले भने, ‘यो कार्यक्रमले युवालाई आत्मनिर्भर बन्न सहयोग गर्छ । कार्यक्रमले महानगरभित्रका केही गरौं भन्ने युवालाई व्यवहारिक र व्यवसायिक सीप प्रदान गर्छ,’ उनले भने । 

नगर प्रमुख महर्जनले यो कार्यक्रमको प्रारम्भिक र महत्वपूर्ण चरण महानगरले पार गरी सकेको बताए । उनले भने, ‘काम गर्न लिखित सहमति नै भइसकेको छ, अबको चरण क्रमबद्ध रुपमा छिटो हुन्छ ।’ यी संस्थाले युथ स्टार्टअपलाई उनीहरुको रुचिको क्षेत्र अनुरुप शैक्षिक, प्राविधिक क्षेत्रमा तालिम दिनेछन् ।

युथ स्टार्टअपको क्षमता विकासका, असल अभ्यासहरुको आदानप्रदान समेत गरिनेछ ।  महानगर प्रमुखका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टले यो कार्यक्रम निकै प्रभावकारी हुने बताए । उनले भने, ‘यो कार्यक्रमले अन्तर्राष्ट्रियस्तरको सीप नेपाली युवाहरुले सिक्ने अवसर पाउँछन् ।’ 

विष्टका अनुसार यो कार्यक्रममा संलग्न हुने युवाहरुलाई व्यवसाय संचालनका लागि बिउँ पुँजी व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा पनि छलफल भइरहेको छ । नगर प्रमुख महर्जन कोरियाको चेरवान र छ्ङयाङ सहरको भ्रमण गरी नेपाल फर्किइसकेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update