Odapalika - The Fourth Estate - चौथो अंग
एउटै प्रशासकीय अधिकृतलाई ३ पालिकाको जिम्मा 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय जनप्रतिनिधिहरुबीचको  समन्वय र सहकार्य अभावमा बैतडीका एकजना प्रमुख प्रशासकीय अधिकृतले ३ वटा पालिकाको नेतृत्व गरिहरेका छन् । 

मन्त्रालयले खटाएका अधिकृतहरुलाई हाजिर नगराउने, कार्यपालिकाले निमित्त तोक्ने निर्णयसहित गरेको आग्रहलाई मन्त्रालयले कार्यान्वयन नगर्नेजस्ता समस्याका कारण बैतडीका अधिकांश पालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन भएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत पनि नभएको र कार्यपालिकाले निमित्त कार्यकारी तोक्ने निर्णय समेत गर्न नसकेर दसैँको मुखमा तलवसमेत खुवाउन समस्या भएपछि सुनर्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई एकसाथ ३ पालिकाको नेतृत्व दिइएको हो । 

सो पालिकामा कार्यरत रघुनाथ अवस्थीलाई छिमेकी गाउँपालिका सिगास र डिलासैनीको पनि प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । 

संघीय मामिला मन्त्रालयले अवस्थीलाई पत्र लेखेरै यी २ पालिकाको आर्थिक र प्रशासनिक कामसमेत गर्ने गरी तोकेको सुनर्या गाउँपालिकाका अध्यक्ष अम्बर बहादुर कँवबरले बताए । 

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत अवस्थीलाई केहीदिन अघिमात्रै सिगास गाउँपालिकाको जिम्मेवारी तोकिएकामा गत शुक्रवार मन्त्रालयले डिलासैनीको समेत आर्थिक र प्रशासनिक नेतृत्व सुम्पिएको हो । 

शुक्रबार मन्त्रालयले पठाएको पत्रमा अवस्थीलाई सुर्नया गाउँपालिकाको कामकाजमा बाधा नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाको  आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिइएको उल्लेख छ ।

बैतडीका गाउँपालिकाहरुमा गत भदौमा खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूको २० दिन नपुग्दै पुनः सरुवा गरिएपछि अहिले पालिकाहरू प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

अध्यक्ष कुँवरका अनुसार अवस्थीले छोटो समय अर्थात दसैँमा तलव भत्तासमेत खान नपाएका सिगास र डिलासैनीका कर्मचारीहरुको तलव निकासलगायतका महत्वपूर्ण काम मात्र गर्नेछन् । 

‘अनुरोध भइ आएका कारण संकटका बेला सहयोग गरिदिने भन्ने कुरा हो, तलव भत्ता निकासालगायतका केही महत्वपूर्ण गाँठो फुकाउनेबाहेक हाम्रो पालिकामा नियुक्त भएर आउनुभएका हाकिमले थप काम गर्नुहुन्न,’ अध्यक्ष कुँवरले वडापालिकासँग भने । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update