Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचन आयोगले खाइदियो प्रभु साहकी श्रीमतीको मेयर पद

काठमाडौँ । निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको पद खाइदिएको छ ।

गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनी निर्वाचित भएकी मेयर साहले दल त्याग गरेको भन्दै आयोगले उनको पद स्वतः रिक्त हुने निर्णय गरेको हो ।

‘...साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा एमाले नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपीसहित आयोगका जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम २ बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त हुने भनी आयोगबाट २९ असोजमा निर्णय भएको छ,’ आयोगले भनेको छ ।

भएको के हो ?

साह २०७९ को स्थानीय तह निर्वाचनको समयमा नेकपा एमालेमै थिइन् । र, उनलाई एमालेले मौलापुर नगरपालिकाको मेयर पदमा उम्मेदवार बनाएको थियो । एमालेकै तर्फबाट उम्मेदवार बनेको साहले चुनाव जितेकी थिइन् । र, उनका पति पूर्वमन्त्री समेत रहेका प्रभु साह पनि सो समयमा एमाले मै थिए ।

तर, २०७९ सालको मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले उनी निकट मधेश प्रदेशका नेताहरुलाई टिकट नदिएको भन्दै प्रभु साहले एमालेमा विद्रोह गरे । र, उनले एमालेले दिएको टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भए ।

निर्वाचित भएपछि साहले आफ्नो नेतृत्वमा आम जनता पार्टी नामक राजनीतिक दल स्थापना गरे । प्रभु साहकी श्रीमती रिनाकुमारी साह पनि उनकै पति नेतृत्वको राजनीतिक दल आम जनता पार्टीमा प्रवेश गरेकी थिइन् । मेयर साहको यस्तो कदमपछि एमालेले उनी विरुद्ध निर्वाचन आयोगमा उजुरी गरेको थियो । एमालेको यही उजुरीलाई टेकेर आयोगले दल त्याग गरेको भन्दै मेयर साहको पद स्वतः रिक्त हुने निर्णय गरेको हो ।

mayor rina kumari1697524740.jpg

स्थानीय तहका जनप्रतिनिधिले दल त्याग गरेपछि सम्बन्धित राजनीतिक दलहरु सोको उजुरी गर्न निर्वाचन आयोग जाने गरेका छन् । दलहरुको यस्तो उजुरीपछि आयोगले दल त्याग गर्ने स्थानीय तहका जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय गर्ने गरेको छ । तर, आयोगको सो निर्णय विरुद्ध सर्वाेच्च गएका जनप्रतिनिधिहरुलाई सर्वाेच्चले अन्तरिम आदेशबाट त्यसरी स्वतः पद रिक्त नगर्नु भन्ने अन्तरिम आदेश दिदै आएको छ । दल त्याग गरेको आधारमा स्वतः पद रिक्त हुने भन्ने व्यवस्था संविधानमा छैन । तर, निर्वाचन आयोग भने राजनीतिक दल सम्बन्धी ऐनको प्रावधान टेकेर स्वतः पद रिक्तको निर्णय गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update