Odapalika - The Fourth Estate - चौथो अंग
सुविधा अभावमा बाहिरिने क्रम बढेपछि रित्तिँदै मुगुम कार्मारोङका गाउँ

काठमाडौँ । सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने सरकारको नारा भए पनि नेपालका धेरै स्थानहरुमा आधारभूत सेवा सुविधा प्राप्त गर्न नसकेका गाउँ छन् । 

त्यसमध्ये हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर १ मा रहेको वाङ्गी र चितै गाउँ पनि पर्छ । त्यहाँका बासिन्दा सामान्य आधारभूत आवश्यकता सरकारले पूर्ति गर्न नसक्दा जीवन निर्वाहका लागि बाहिरिनु परेको अवस्था छ । 

धेरैजसो बसाइँ सरेर अन्यत्र जाने क्रम बढिरहेकाले गाउँहरु रित्तै हुन थालेका छन् । गाउँ सुनसान छ भने घरहरु बन्द छन् । खेतबारी बाँझै हुन थालेका छन् ।

स्वास्थ्य, शिक्षा, गाँसजस्ता आधारभूत आवश्यकताको अभावका साथै खेतबारीमा बन्यजन्तुहरु घोरल, झारल, नावरलगायतले दुःख दिने गरेकाले स्थानीयबासी चितै कुना, गमगढी बजार, जुम्ला, डोल्पा, काठमाडौं र भारतको हिमालञ्चल क्षेत्रमा जान बाध्य भएका छन् । 

गाउँले बाहिरिएपछि घरहरु सबै बन्द भएको साथै खेतीयोग्य जमिन जंगलमा परिणत भइरहेको स्थानीय सोनाम आङ्गजी तामाङले बताए । 

वाङ्गीगाँउका ६५ घर परिवारले ५–६ बर्ष पहिले नै गाउँ छाडे  । उनीहरु बाहिरिएपछि गाउँ सुनसान छ । चितै गाउँमा पछिल्लो अभिलेख अनुसार ९५ घरपरिवार थिए ।

केही अलि हुने खानेहरु सदरमुकाम गमगढी बजार र देशका ठूला ठूला शहरमा गएका छन् । गाउँमा रहेको विद्यालय र स्वास्थ्य संस्थाबाट सेवा लिने नागरिकहरु नहुँदा गाउँदेखि तल मुगु कर्णाली नदीको किनारमा रहेको चितै कुनामा केही गाउँले बस्ने गरेको निमाङ लामाले बताए ।

गाउँले बाहिरिएपछि त्यहाँको विद्यालय र स्वास्थ्य संस्था पनि तल चितै कुना सारेको उनको भनाइ छ । पहिले गाउँमाथि अहिले तल बाटो भएको हुँदा बाटोमा ब्यापार गर्नको लागि केही घरहरु तल चितै कुना बसेका हुनाले बिद्यालय, स्वास्थ्य संस्था पनि तल सारेर सञ्चालनमा ल्याइएको छ ।

माथि गाउँमा बन्यजन्तुले सबै अन्नबाली खाइदिने र नष्ट गर्ने गरेकाले गाउँमा स्थानीय बासिन्दा बस्न छाडेको गाउँलेको भनाइ छ ।

बन्यजन्तुबाट बच्नका लागि खेतीयोग्य जमिनमा घेरबारा गर्ने र स्थानीय बासिन्दालाई गाउँमै बस्ने बातावरण मिलाउन स्थानीय सरकार तयारीमा रहेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए ।

गाउँपालिकाका यीवाङ्गी र चितै गाउँ बसाइँ सराई गरेर गएका छन् भने मुगु, दाउरा, रिउस, पुवलगायत गाउँका अधिकांश बासिन्दा पनि आधारभूत आवश्यकताको खोजीमा अन्यत्र गइरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update