Odapalika - The Fourth Estate - चौथो अंग
विश्वासको मत लिदै कोशीका मुख्यमन्त्री, राप्रपाबाहेक सबैले मत दिने 

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन् ।

कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका कार्की मुख्य मन्त्री नियुक्त भएका थिए ।

केन्द्रमा गठबन्धन दलहरुका नेताबीच माओवादीलाई सरकारको नेतृत्व दिने सहमति बनेको भए पनि त्यसप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कार्कीलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने भएका छन् ।

त्यसबाहेक कांग्रेसको संस्थापन पक्षका सांसद र जनता समाजवादी पार्टीले पनि विश्वासको मत दिने जनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बस्ने भएको छ ।

मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गरेपछि तीन सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् ।  उनले कांग्रेसको ‘विद्रोही’ समूहका एकजना र नेकपा एमालेका एकजनालाई मन्त्री नियुक्त गरेका छन् ।  यसैबीच, नेकपा एमालेले सरकारमा ५ जना मन्त्री पाउनुपर्ने दाबी गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update