Odapalika - The Fourth Estate - चौथो अंग
बिपन्नको निःशुल्क बीमा गरेर सामूहिक खेतीमा लागेका वडाध्यक्ष 

चितवन । स्थानीय तहका जनप्रतिनिधि चुनाव जित्न जनतासँग बाचामात्र गर्दैनन्, कार्यान्वयन पनि गरेर देखाउँछन् भन्ने गतिलो उदाहरण बनेका छन् चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाअध्यक्ष रुद्रप्रसाद उप्रेती । 

स्थानीय तह निर्वाचनका बेला उनको एउटा प्रतिवद्धता थियो–वडाध्यक्ष भएँ भने गाउँपालिकाबाट प्राप्त सेवा सुविधाको रकमबाट विपन्न वडावासीको  निःशुल्क बीमा गरिदिन्छु । 

उनले शुक्रवार एक कार्यक्रममाझ १ वर्षको सेवा सुविधा बापतको २ लाख १३ हजार रुपैयाँ रकम वडाका विपन्न ६१ घर परिवारको बीमाका लागि हस्तान्तरण गरेका छन् । 

आर्थिक वर्ष २०७९/८० मा आफुले पाउने पारिश्रमकबापतको सेवासुविधाबाट  विपन्न नागरिकलाई  स्वास्थ्य बीमा गरिदिएको उनले वडापालिकालाई बताए । 

वडाध्यक्ष उप्रेतीले शुक्रबार गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत बीमा बोर्डलाई बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । 

‘स्वास्थ्य बीमा गर्न नसक्दा यहाँका विपन्न नागरिक सामान्य बिरामी हुँदासमेत  चन्दा माग्दै हिँड्नुपर्ने बाध्यता छ, मैले निर्वाचनकै बेला सेवासुविधा नलिने घोषणा गरेको थिएँ, सोहीअनुसार विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छु,’ उनले भने । 

उनको यो काम देखेर गाउँपालिकाले पनि पालिकाबासीको निःशुल्क बीमा गर्ने बताएको छ । चेक हस्तान्तरण कार्यक्रममा पुगेका पालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाकले १० प्रतिशत  विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा पनि गरे । 

‘पोहोर जेठवाट असारसम्मको सेवासुविधा जति आयो त्यतिले ७१ जना घरपरिवारको बीमा गर्न पुग्ने रहेछ, अहिले ६१ परिवारको भयो, अब १० परिवारको गर्ने लक्ष्य छ,’ उनले भने । 

यसपटक बीमा गरिदिएका नागरिककको बीमा नविकरण पालिकाले गरिदिएको अवस्थामा चालु वर्षको सेवा सुविधाबाट नयाँ काम गर्ने उनको सोच छ ।

वडाध्यक्ष उप्रेती बीमामा मात्र लागेका छैनन् । उनी वडाध्यक्ष निर्वाचित भएपछि सामाजिक सुरक्षा भत्ता वुझ्न कुरिनटारसम्म धाउनुपर्ने ज्येष्ठ नागरिकले अब टोलटोलमै भत्ता पाउन थालेका छन् । 

‘आगामी सोमबार पनि म भत्ता लिएर टोलटोल जाँदैछु,’ उप्रेतीले भने । उनको पहलमा अलपत्र अवस्थामा रहेको इच्छाकामना अस्पताल संचालनले समेत गति लिएको छ । 

बनको जग्गामा बनेको यो अस्पताल पुग्ने डेढ किलोमिटर बाटो उनी अध्यक्ष निर्वाचित भएपछि ढलान भइसकेको छ । अधुरा सामूदायिक भवनहरु धमाधम बन्दै छन् । 

शिक्षाको गुणस्तर सुधार गर्न सरकारी कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनै पर्ने गाउँपालिकाको नीति उनले आफ्नो वडामा कार्यान्वयन थालेका छन् ।

अब वडाका बाँझो बारीमा समूह बनाएर सामूहिक खेती  गर्ने कृषि एम्बुलेन्स संचालन गर्नेजस्ता उनका प्राथमिकताका काम हुन् । 

भन्छन्, ‘कृषि एम्बुलेन्स वडा नम्बर २ मा आइसकेको छ । अब क्रमश वडा ४ हुँदै पालिकाबा ७ वटै वडामा कृषि एम्बुलेन्स संचालन गर्छौँ ।’

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update