Odapalika - The Fourth Estate - चौथो अंग
दसैँको पाँचौं दिन, स्कन्दमाताको पूजा 

काठमाडौँ । घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको नवदुर्गा पूजाको आज पाँचौ दिन मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिँदै छ । 

स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्ने गरिन्छ । स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन स्कन्दमाताको पूजा आरधना गरी ज्ञान, भक्ति र कर्म शक्तिको लागि प्राथना गर्ने गरिन्छ । 

स्कन्दमाताको स्वरुपबारे चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ ।

भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक मानिन्छन्। उनले सानै उमेरमा सुरता र विरताको प्रर्दशन गरी सेनापतिको स्थान हाँसिल गरेको र   त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।

स्कन्दमाताको पूजा गर्नाले व्यक्तिको व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि शक्ति र प्रेरणा मिल्ने विश्वास गरिएको  पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराई बताउँछन्। 

घटस्थापनाको दिनदेखि नवरात्रसम्म दूर्गादेवीका नौ रुपको पूजा गरिन्छ । नवरात्रभर देशभर रहेका शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update