काठमाडौँ । पूर्वी नेपालसँग काठमाडौँलाई जोड्ने विपी राजमार्ग अन्तरगत सिन्धुली बर्दिबास सडकखण्डमा प्रहरीले घुस आतंक मच्चाएको छ । प्रहरीले सवारी चालकसँग खुलेआम घुस माग्ने गरेको चालकहरुले बताएका छन् ।
प्रहरीले सवारी चेकिङका नाममा प्रतिसवारी १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म घुस माग्ने गरेको एक चालकले जानकारी दिए । यद्यपि, सोही रुटमा सवारी चलाउनु पर्ने भन्दै उनले आफ्नो परिचय भने खुलाउन चाहेनन् ।
‘दशैँको फूलपातीदेखि आज (त्रयोदशी) सम्म ७ पटक विपी राजमार्गमा गाडी चलाएँ । प्रत्यक पटक बर्दिबास जाँदा र काठमाडौँ आउँदा प्रहरीलाई चेकिङ प्वाइन्टमा १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म घुस खुवाउनु परेको छ । यस्तो त कहिल्यै भएको थिएन,’ करिब १५ वर्षदेखि सवारी सधान चलाउने गरेको बताउने एक चालकले वडापालिकासँग भने ।
उनले अहिले प्रहरीले खुल्लेआम घुस माग्ने गरेको पनि बताए ।
‘अहिले पहिलोको जस्तो छैन । प्रहरीले हामीलाई पनि दशैँ लागेको छ । हामीले पनि दशैँ मान्नुपर्यो नि भन्छन् । अनि उनीहरुलाई पैसा दिने हो,’ ती चालकले भने ।
उनले घुस माग्नेको लागि प्रहरीमा कुनै डर नै नदेखिएको पनि बताए । निजी सवारीसाधन भए सोही अनुसारको व्यवहार गर्ने र सार्वजनिक सवारी साधन भए बेग्लै व्यवहार गर्ने गरेको चालकहरुको भनाइ छ ।
‘गाडीमा प्यासेन्जर रहेनछन भने चेकिङमा आउने पुलिसलाई गाडीबाटै पैसा दिदा हुन्छ । प्यासेन्जर रहेछन् भने चौकीभित्र जाने र पैसा दिएर आउने हो । उनीहरुलाई ड्राइभरसँग कुनै डर हुँदोरहेनछ । किनभने फेरि त्यही सडकमा गाडी गुडाउनै पर्छ भनेर हामीसँग निर्धक्क पैसा माग्छन्,’ ती चालकले भने ।
सवारी चालकहरुले मुग्लिनतिरको सडकम घुस माग्ने क्रम कम भएको र विपी राजमार्गको सिन्धुली बर्दिबास सडकखण्डमा अत्याधिक बढेको पनि बताए ।