Odapalika - The Fourth Estate - चौथो अंग
आँबुखैरेनी गाउँपालिकाको सहयोगमा कन्यादेवी माविका विद्यार्थीले हुर्काए लोकल कुखुरा

काठमाडौँ । तनहुको आँबुखैरेनी गाउँपालिकाको सहयोगमा कन्यादेवी माध्यामिक विद्यालयका विद्यार्थीले लोकल कुखुरा उत्पादन गरेका छन् । गाउँपालिकाको संचालन गरेको पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत सो गाउँपालिकाको वडा नम्बर ६ हिलेखर्कमा पर्ने कन्यादेवी माविका विद्यार्थीले लोकल कुखुरा उत्पादन गरेका हुन् ।

विद्यार्थीले उत्पादन गरेका कुखुरा अहिले विक्रीका लागि योग्य भइसकेका छन् । गाउँपालिकाले २०० वटा लोकल कुखराका चल्ला दिएर यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाको पशुचिकित्सक सन्तोष देवकोटाले जानकारी दिए ।

‘गत आर्थिक वर्षको बजेटमा प्रत्यक वडामा एक वडा एक उत्पादन कार्यक्रम थियो । त्यसको लागि प्रत्यक वडामा ५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको थियो । सोही कार्यक्रम अन्तरगत वडा नम्बर ६ को हिलेखर्कमा रहेको कन्यादेवी माविलाई २०० वटा लोकल कुखुराको चल्ला दिइएको थियो,’ पशुचिकित्सक देवकोटाले वडापालिकासँग भने ।

गाउँपालिकाबाट प्राप्त भएका लोकल कुखुराको चल्लालाई विद्यालयले विद्यार्थीको लागि पढ्दै कमाउँदै कार्यक्रममा जोड्यो । सोही कार्यक्रम अन्तरगत विद्यार्थीले विद्यालयमै लोकल कुखरा हुर्काए । र, अहिले ती कुखुरा विक्रीको लागि योग्य भएका छन् ।

गाउँपालिकाले एक वडा एक उत्पादनबाट उत्पादन भएका वस्तुको विक्री वितरणको लागि प्रत्यक शुक्रबार आँबुखैरेनी हाटबजार संचालन गर्छ । यो हाटबजारमा गाउँपालिकाभित्र उत्पादन भएका सबै उपजको विक्री गरिन्छ । कन्यादेवी माविका विद्यार्थीले उत्पादन गरेका लोकल कुखुरा पनि सोही हाटबजारमा विक्री गर्ने गरिएको छ ।

विद्यालयमा उत्पादन भएका कुखुराको मुल्य पनि तय भएको छ । ती कुखराको भालेको प्रतिकेजी ८०० रुपैयाँ र पोथीको मूल्य प्रतिकेजी ७०० रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update