Odapalika - The Fourth Estate - चौथो अंग
३ महिना १२ दिनमा संघीय सरकार ५५ अर्ब ३६ करोड रुपैयाँ घाटामा

काठमाडौँ । संघीय सरकारको ढुकुटी एकपछि अर्काे समस्यामा पर्न थालेको छ । गत आर्थिक वर्षमा वाह्य क्षेत्र विग्रिएको नेपाली अर्थतन्त्रको खम्बा यसपाली भने आन्तरिक क्षेत्र संकटउन्मुख भएको छ । 

चालु आर्थिक वर्षको २ महिना (साउन र भदौ) महिनाको तथ्यांक हेर्दा नेपाल सरकारसँग विदेशी विनियम संचिति भने पर्याप्त छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ बराबर विदेशी मुद्राको संचिति छ । यो रकमले एक वर्षभन्दा बढी (१२.६ महिना) को लागि वस्तु आयात गर्न पुग्छ । र, वस्तु तथा सेवा दुबै आयात गर्दा पनि अहिले नेपालमा भएको विदेशी विनिमयले १०.३ महिनाको आयात गर्न पुग्छ ।

चालु आर्थिक वर्षको २ महिनामा शोधनान्तर स्थिति (नेपालमा भित्रने र नेपालबाट बाहिरिने रकमको हिसाव) पनि सकारात्मक छ । भदौ मसान्तसम्ममा नेपालको शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैेयाँले बचतमा छ । जबकि, गत आर्थिक वर्षको पहिलो २ महिना (साउन र भदौ) मा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो ।

विदेशी मुद्रा संचिति राम्रो र शोधनान्तर स्थिति बचतमा भएपनि संघीय सरकारको आन्तरिक हिसाव भने भद्रगोल बनेको छ । गत कात्तिक १२ गतेसम्ममा संघीय सरकारको ढुकुटी ५५ अर्ब ३६ करोड रुपैयाँले नोक्सानीमा छ ।

सरकारको आम्दानी र खर्चको हिसाव राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार संघीय सरकारले गत कात्तिक १२ गतेसम्ममा २ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ प्राप्त गरेको छ । यसमध्ये २ खर्ब २९ अर्ब ७२ करोड रुपैयाँ राजस्व हो । र, २ अर्ब ७५ करोड रुपैयाँ विदेशी अनुदान तथा १५ अर्ब ८० करोड रुपैयाँ अन्य प्राप्ति हो ।

कात्तिक १२ गतेसम्ममा संघीय सरकारले आम्दानीभन्दा ५५ अर्ब ३६ करोड रुपैयाँ बढी खर्च गरेको छ । सो अवधिमा संघीय सरकारले ढुकुटीबाट ३ खर्ब ३ अर्ब ६५ करोड रुपैयाँ खर्च गरेको छ ।

संघीय सरकारले गरेको खर्चमध्ये २ खर्ब २६ अर्ब ४० करोड रुपैयाँ चालु खर्च हो भने २५ अर्ब ७८ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गरेको छ । यही अवधिमा संघीय सरकारले ५१ अर्ब ४५ करोड रुपैयाँ स्वदेशी तथा विदेशी ऋणको सावाँ तथा व्याज तिरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update