Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लाफाँटा नगरपालिकाका कृषकलाई अनुदानमा आलुको बीउ 

काठमाडौँ । व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ । 

आलुखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले १२० किसानलाई १०० क्विन्टल आलुको बीउ वितरण गरेको हो ।

वडा कार्यालयले तीन वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखका प्रमुख करनसिंह बुढाऐरले जानकारी दिए ।

‘छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका किसानलाई एक क्विनटलका दरले आलुको बीउ वितरण गरेका छौँ । वडाका २ जना किसानलाई आलुको मूल बीउ १५० दानाका दरले वितरण गरिएको छ,’ उनले भने ।

शिलबन्दी दरभाउ पत्रअनुसार खरिदकर्ताको छनोट गरी आलुको बीउ खरिद गरी किसानलाई वितरण गरिएको शाखा प्रमुख बुढाऐरको भनाइ छ ।

किसानलाई कार्डिनल, डिजिरे, जनकदेव, एमएस, खुमलटार रातो आलुको बीउ वितरण गरिएको छ । आलुको बीउ खरिदका लागि ३ लाख ६१ हजार रकम खर्च गरिएको छ ।  नगरपालिकाको वडा नं ३ को पिपलाडी, जोनापुर, वडा नं २ को लक्ष्मीपुर, वडा नं ४ को असैना, वडा नं ६ को कसरौल, वडा नं ८ को बेलडाँडी, वडा नं ९ को नौखरी, वडा नं ११ को कलुवापुर र वडा नं १२ को कालागौंडी क्षेत्रका किसानले व्यावसायिकरूपमा आलुखेती गरिरहेका छन् ।

सबैभन्दा बढी बेलडाँडी, जोनापुर, पिपलाडी क्षेत्रका किसानले आलुखेतीलाई व्यावसायिकरूपमा गर्दै आएका छन् । कृषि विकास शाखाका अनुसार नगरपालिका क्षेत्रमा २०० हेक्टर क्षेत्रफलमा उन्नतजातको आलुखेती हुने गरेको छ । 

जसको उत्पादन प्रतिहेक्टर ११ मेट्रिक टन छ । उन्नत जातको आलुखेतीसँगै नगरपालिकामा १०० हेक्टर क्षेत्रफलमा स्थानीय जातको आलुखेतीलाई किसानले निरन्तररूपमा अगाडि बढाउँदै अएका छन् । 

कृषि ज्ञान केन्द्रले पनि प्रत्येक वर्ष नगरपालिका क्षेत्रमा स्थानीय जातको आलुखेती गर्ने किसानलाई अनुदानमा आलुको बीउ र प्रविधिमा सहयोग गर्दै आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update