Odapalika - The Fourth Estate - चौथो अंग
भूकम्पको पैसा निकाल्न किर्ते कागज बनाउँदा मण्डनदेउपुरको नमुना तामाङ बस्ती संकटमा

काठमाडौँ । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा पर्ने नमुना एकीकृत तामाङ बस्ती समस्यामा परेको छ । २०७२ को बारपाक भूकम्पबाट भत्केका घर बनाउनको लागि सरकारबाट राहत लिन कागजपत्र मिलाउँदा सो बस्ती समस्यामा परेको हो ।

सरकारले दिएको राहत रकम समयमै निकाल्नको लागि नबनेका घर पनि बनिसके भनेर सरकारी निकायमा कागजात पेश गरेका कारण नमुना बस्ती समस्यामा परेको छ । सो भूकम्पका कारण स्थानीयको घर भत्किएपछि २९ घरको बनाउनका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले रकम दिएको थियो ।

घर बनाउनको लागि प्राधिकरणले प्रतिघर ३ लाख रुपैयाँका दरले अनुदान दिएको र सो अनुदान रकम प्राधिकरण खारेज हुनुअघि नै ल्याइसकिएको नमुना एकीकृत बस्तीको उपभोक्ता समितिका अध्यक्ष आइतमान तामाङले जानकारी दिए ।

‘सरकारले भूकम्प पीडितलाई दिने भनेको प्रतिघर ३ लाख रुपैयाँका दरको अनुदान ल्यासकिएको छ । यो रकम पुननिर्माण प्राधिकरण खारेज हुनुअघि नै ल्याइएको हो,’ अध्यक्ष तामाङले वडापालिकासँग भने ।

सबै घर बनिसके भनेर अनुदान ल्याइएको भएपनि सो क्षेत्रमा बनाउने भनिएकामध्ये आधा घर पनि नबनेको नगरपालिकाका मेयर टोकबहादुर वाइवा बताउँछन् ।

‘नमुना एकीकृत तामाङ बस्तीमा २९ घर बनाउने भनिएको हो । त्यसमध्ये १३ वटा घर बनेर छाना पनि छाइएको छ । बाँकी घर बनेकै छैन,’ मेयर वाइवाले वडापालिकासँग भने ।

उनले पुननिर्माण प्राधिकरणले नमुना बस्ती बसाउनको लागि थप बजेट दिने भनेर फसाइदिएको बताए । सरकारले बजेट दिएर नमुना बस्ती बनाउने भनिएको तर पछि नदिएका कारण समस्या सिर्जना भएको उनको भनाइ छ ।

नुमना एकीकृत बस्ती बसाउने भनिएको स्थान मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १० मा पर्छ । सो वडाका .वडाध्यक्ष कुमार तामाङ घरको लागत नै बढी भएका कारण सरकारी बजेटले बनाउन नसकिएको बताउँछन् ।

‘डिपिआर ा नमुना बस्तीका एउटा घर बनाउन मात्रै १० लाख २० हजार रुपैयाँ लाग्ने भनिएको रहेछ । एउटा घर बनाउँदा १२ लाख जति खर्च भएको स्थानीय बताउँछन् । यसो हुँदा सरकारले दिएको पैसाले जति बन्छन् त्यति घर बनाउने काम भएछ । पैसा सकिएदा जम्मा १३ घर मात्रै बनिसकेछन् । यसैले गर्दा समस्या भयो,’ वडाध्यक्ष तामाङले भने ।

उपभोक्ता समितिका अध्यक्ष तामाङ भने २९ वटा घरको लागि नै पुग्ने सामग्री अहिले त्यसै थन्किएर बसेको बताउँछन् ।

स्थानीयले थप बजेटका लागि नगरपालिकासँग आशा गरेका छन् । प्राधिकरणले सम्झौता गर्दा नगरपालिकाका मेयर पनि साक्षी बसेका थिए । अहिलेका मेयर वाइवा यसअघि पनि सो नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । सोही कारण स्थानीयले नगरपालिकाबाट बजेट पाउने आशा गरेका छन् । यद्यपि, मेयर वाइवा भने थप बजेट दिन समस्या भएको बताउँछन् ।

नमुना बस्ती निर्माण योजनामा २९ वटा घर र एउटा सामुदायिक भवन बनाउने भनिएको थियो । सामुदायिक भवन बने बनिसकेको स्थानीयले बताएका छन् ।

उपभोक्ता समितिका अनुसार प्राधिकरणबाट २ करोड ८० लाख रकम निकासा भएको थियो । उक्त रकमबाट एकीकृत बस्तीमा पहुँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउने योजना बनाइएको थियो । तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमुना तामाङ बस्ती निर्माण थालिएको थियो । तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गरिने भनिएको थियो ।

नमुना बस्तीमा ४० लाख रुपैयामा एक सामुदायिक भवन निर्माण भएको छ । 

नमुना बस्ती बनाउन बजेट अभाव भएपछि प्रदेश सांसद लक्ष्मण लम्सालको पहलमा १० लाख रुपैयाँ थप बजेट आएको थियो । यस्तै, स्थानीय र नगरपालिकाका प्रतिनिधिको पहलमा एक दातृ संस्थाले करिब ८५ लाख रुपैयाँ थप बजेट दिएको थियो ।

तर, पुननिर्माण प्राधिकरणबाट रकम लिने प्रयोजनका लागि सो स्थानका सबै (२९ वटै) बनिसकेको कागजात सरकारी निकायमा बुझाइएको छ । सरकारी निकायमा बनिसकेका भनेर उल्लेख भएका घर बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायले रकम दिन नमिलेपछि सो बस्ती निर्माण सम्पन्न गर्न समस्या भएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update