Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो रहेछ १०० केजी सुन आयात गर्ने कम्पनीका मालिका दीलीप भुजेलको आर्थिक हैसियत

काठमाडौँ । गत मंगलबार अपरान्ह एउटा सनसनीपूर्ण समाचार सार्वजनिक भयो । समाचार थियो– राजस्व अनुसन्धान विभागले करिब १०० केजी सुन सिनामंगलबाट बरामद गर्यो ।

सो समाचारमा अर्काे तरंगित पार्ने तथ्य थियो– सो सुन क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत आएको थियो र भन्सार जाँचपास पनि भएको थियो ।

एयरपोर्टबाट भन्सार पास भएर करिब १०० केजी सुन अवैध रुपमा वाहिरिएको तथ्यसँगै नेपालभर तरंग उत्पन्न भयो । र, खोजी हुन थाल्यो– यतिधेरै सुन ल्याउन सक्ने मान्छे को हो ? 

तर, सरकारी निकायले अहिलेसम्म गरेको अनुसन्धानले सुन कसको हो भन्ने खुलेको छैन । सुन बरामदसँगै पक्राउ परेका दीलीप भुजेलको नाममा दर्ता भएको कम्पनीले हङकङबाट स्कुटरको ब्रेक शु आयात गरेको विवरण देखाएर अबैध सुन आयात गरिएको अहिलेसम्मका तथ्यले देखाएका छन् ।

सो ब्रेक शुलाई ‘अटो पार्टस’का नाममा आयात गरिएको थियो । आयात गर्ने कम्पनी थियो– रेडी ट्रेड प्रालि । र, कम्पनीका संचालक थिए– दीलीप भुजेल ।

गत मंगलबार पक्राउ परेको सुनको मूल्य अन्तराष्ट्रिय बजारमा करिब १ अर्ब रुपैयाँ पर्छ । यति धेरै सुन आयात गर्न सक्ने आर्थिक हैसियत भएका दीलीप को हुन् भनेर हामीले खोज्ने प्रयास गरेका छौं । 

दीलीपको घर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ मा पर्ने रहेछ । यति तथ्य खुलेपछि हामीले सोही पालिकाको वडाअध्यक्षसँग सम्पर्क गरी दीलीपका विषयमा बुझ्ने प्रयास गरेका छौं ।

वडा अध्यक्ष ईश्वर कोइरालले अहिले पक्राउ परेका दीलीपसँग राम्रोसँग दुई छाक खान पनि नपुग्ने आर्थिक हैसियत भएको बताए ।

‘मैले चिनेको भाइ हो । उसको बाबुलाई पनि चिन्छु । घर पनि थाहा छ । विहान खाए बेलुका के खाउँ, बेलुका खाए विहान के खाउँ भन्ने हैसियतको परिवार हो । दीलीपले पनि काठमाडौँमा ज्यामी काम गरेर जीवन निर्वाह गर्ने गरेका थिए,’ वडा अध्यक्ष कोइरालाले वडापालिकासँग भने ।

उनले कसरी कम्पनी खोले र त्यति धेरै सुन आयात गर्न सक्ने उनको कम्पनी बन्यो भन्ने विषयमा आफू पनि अन्योलमा परेको वडा अध्यक्ष कोइरालाको भनाइ छ ।

‘कम्पनी खोल्न पनि जान्दैन होला । खान लगाउनै गाह्रो पर्ने परिवार भएकोले कम्पनी खोल्ने पैसा जुटाउन पनि समस्या हुनुपर्ने हो । तर, उसको नाममा कम्पनी खुलेको र करिब १ अर्ब रुपैयाँ बराबरको अबैध सुन आयात भएको भन्ने सुनेर म पनि अचम्ममा परेँ,’ वडा अध्यक्ष कोइरालले भने ।

दीलीप भुजेल उनका मामा रामकुमार भुजेलका कारण गैरकानुनी काम गर्नेहरुको सम्पर्कमा पुगेको प्रारम्भिक तथ्यहरु फेला परेका छन् । रामकुमार एक चिनीयाँकोमा काम गर्ने र उनकै कारण दीलीपको नाममा कम्पनी खडा गरेर अबैध सुन आयात भएको हुन सक्ने स्रोतको दाबी छ ।

‘दीलीपको नाममा कम्पनी खडा गरिएको रहेछ । सो कम्पनीबाट सामानहरु आयात गर्ने गरिएको रहेछ । कम्पनी खोल्नको लागि मनाउन दीलीपलाई २० हजार रुपैयाँ दिइएको रहेछ । त्यही पैसामा ऊ लोभिएछ,’ राजस्व अनुसन्धान विभाग स्रोतले वडापालिकासँग भन्यो ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update