Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाको अनुदानमा आँबुखैरेनीका कृषकले २६ रोपनीमा फूलाएका फूल 

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाका कृषकले व्यावसायिक फूल खेतीबाट मनग्गे आम्दानी लिन थालेका छन् । 

अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत व्यावसायिक फूल खेती गरिरहेका कृषकका कारण भारतीय फूल आयात प्रतिस्थापनमा सहयोग पुगेको पालिकाले जनाएको छ । 

चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा यहाँको अर्थ बाहिरै जाने हुँदा फूल खेती गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

व्यावसायिक खेती गरी आर्थिक आम्दानीको बलियो स्रोतको रूपमा विकास गर्न पालिकाले नमुनाका रूपमा खेती थालेको हो । पालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा आमा समूह र विद्यालयमार्फत फूल खेती गरिएको छ ।

कृषि क्षेत्रमा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने र रोजगारीका लागि बिदेसिने क्रम न्यूनीकरण गर्न कृषिलाई प्राथमिकतामा राखिएकाले अध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष चुमान बताउँछन् । 

कार्यक्रमअन्तर्गत २० लाख रुपियाँ विनियोजन गरी फूल खेती गरिएको छ । तिहार नजिकिएसँगै यहाँका कृषकलार्ई फूल टिप्न, माला गाँस्न र बेच्न भ्याईनभ्याई छ ।

आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता माध्यमिक परिसरमा गरी २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको गाउँपालिकाले जनाएको छ । 

पालिका अनुसार महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न १०० प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको छ । 

वडाका ३ स्थानमा गरी २६ हजार बिरुवाले उत्पादन दिन सुरु गरेको छ । मालाको गुणस्तर हेरी थोकमा प्रतिमाला ४० देखि ६० रुपैयाँ सम्ममा बिक्री हुने पालिकाको भनाइ छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माका अनुसार व्यावसायिक फूल खेतीबाट महिलाहरूको आयआर्जनमा समेत सहयोग पुगिरहेको छ ।   
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update