Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरपालिका चलचित्र सहरमा छनोट

काठमाडौँ । चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) मा जोडिएको छ । 

रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधा छानेको थियो । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो । 

सञ्जालमा १०० भन्दा धेरै देशका ३५० वटा सहरहरु आवद्ध छन् । यस पटक ५५ वटा सहर थपिएका हुन् । रचनात्मक सहरका सबै विधाहरु काठमाडौँसँग सम्बन्धित छन् । चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले महानगरपालिकाले यो विधा छानेको हो । 

रचनात्मक सहरमा आवद्ध हुने निणर्य भएपछि व्यवस्थापन केन्द्र स्थापना गरेर सरोकारवालाको पहिचान गरिएको महानगरले जनाएको छ । सरोकारवालाबीच परामर्श समूह निर्माण, विषय र रचनात्मक सम्पत्तिको नक्साङ्कनसहितका काम भइसकेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । 

जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौँलाई रचनात्मक सहरका रुपमा हेर्ने गरिएको छ । 

फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्न भिन्न सहरलाईलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा हो । यसबाट सहरहरुलाई अन्तरराष्ट्रिय स्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने उद्देश्य राखिएको उनको भनाइ छ । 

यस बर्ष सञ्जालमा जोडिएका सहरमध्ये काठमाडौँसहित ५ वटा सहर चलचित्र विधामा छानिएका छन् । यस्तै संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा सहर जोडिएका छन् । 

अन्तरराष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तरराष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट जस्ता सञ्चालन गरिने महानगरको योजना छ । 

युनेस्को क्रियटिभ सिटीज नेटवर्क (युसीसीएन) का कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update