Odapalika - The Fourth Estate - चौथो अंग
२ अर्बको भ्रष्टाचार रोक्न खोज्दा मेयर्स फोरमले लियो बालेनको हुर्मत

काठमाडौँ । कम्तिमा २ अर्ब रुपैयाँ भ्रष्टाचार रोक्ने प्रयास गरेका कारण काठमाडौँ उपत्यकाका मेयर र उपमेयरहरुको संस्था मेयर्स फोरमले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को हुर्मत लिएको छ ।

काठमाडौँ उपत्यकाको फोहोर एकीकृत रुपमा व्यवस्थापन गर्न दिने निर्णय गर्नको लागि आयोजना भएको मेयर्स फोरमको बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आपत्ति जनाएपछि उल्टै बालेनको आलोचना भएको हो । मेयर्स फोरमको योजना अनुसार फोहोर व्यवस्थापनको जिम्मा दिइएको भए करिब २ अर्ब रुपैयाँ अतिरिक्त लागत पर्ने थियो ।

मेयर्स फोरममा के भयो ?

मंगलबार (हिजो) काठमाडौँ उपत्यकाका मेयर र उपमेयरहरुको संस्था मेयर्स फोरमको बैठक बुढानिलकण्ठ नगरपालिकामा पर्ने पार्क भिलेज रिसोर्टमा बस्यो । अहिले फोरमको अध्यक्ष ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन छन् । यद्यपि, बैठक आयोजना बुढानिलकण्ठ नगरपालिकाले गरेको थियो ।

सो बैठकमा काठमाडौँ उपत्यकाको फोहोर एकीकृत रुपमा व्यवस्थापन गर्न दिने प्रस्ताव राखिएको थियो । र, फोहोर व्यवस्थापनको जिम्मा हिमालयन बैंकका पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठको कम्पनी नेपवेष्टलाई दिने तयारी भइरहेको छ ।

जबकि मेयर फोरमको सोभन्दा अगाडीको बैठकले नै फोहोर व्यवस्थापनको जिम्मा नेपवेष्टलाई नदिने निर्णय गरिसकेको थियो । यसअघिको बैठकले नै नेपवेष्टलाई नदिने भनेर गरेको निर्णय हिजोको बैठकमा फेरि राखिएपछि काठमाडौँ महानगरका मेयर बालेन शाह असन्तुष्ट बनेका थिए ।

मेयर शाह मेयर्स फोरमको पहिलो भेलामा सहभागी भएका थिए । सो भेलामा उनले फोरमको नेतृत्व आफूले पाउनु पर्ने दाबी गरेका थिए । यसअघिको फोरमको नेतृत्व काठमाडौँ महानगरका तत्कालिन मेयर विद्यासुन्दर शाक्यले गरेकोले यसपालि ललितपुर महानगरपालिकाका मेयरलाई नेतृत्व दिने भेलाले निर्णय गर्यो । त्यसपछि मेयर शाह आफू साधारण सदस्य मात्रै रहने भन्दै फोरमको बैठकमा अनुपस्थित रहँदै आएका थिए ।

तर, यसअघिको बैठकले अस्वीकार गरेको प्रस्ताव (नेपवेष्टलाई फोहोर व्यवस्थापन गर्न नदिने निर्णय) यसपटको बैठकमा फेरि राखिएपछि मेयर शाहले चासो राखेका थिए । र, उनले यसविषयमा ललितपुर महानगरका मेयर महर्जनलाई फोन गरी सोधेका पनि थिए ।

ललितपुर महानगरका मेयर महर्जनले सो विषयमा बैठकमै जानकारी दिने भन्दै सो बैठकमा आउन मेयर शाहलाई भनेका स्रोतले जानकारी दियो । मेयर महर्जनको यस्तो प्रस्तावपछि मेयर शाह बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न चाहेका थिए । बैठकको सुरुमै मेयर शाहले आफ्ना कुरा राख्न खोजेको तर अध्यक्षता गरिरहेका मेयर महर्जनले एजेण्डा प्रस्तुत भएपछि आफ्नो धारणा राख्न भनेका कारण मेयर शाह बैठक बीचमै उठेर हिडेका थिए ।

‘मेयर शाह (बालेन शाह) बैठकको सुरुमै बोल्न खोज्दै हुनुहुन्थ्यो । अध्यक्षज्यूले बैठकका एजेण्डा राखिसकेपछि सबैले आफ्ना धारणा राख्न पाउने बताउँनु भयो । त्यसपछि मेयर शाह उठेर हिड्नुभयो । उहाँले प्रक्रिया बुझ्नु भएन,’ बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले वडापालिकासँग भने ।

तर, हिजोको बैठकमा फोहोर व्यवस्थापन गर्न दिने भनिएको कम्पनी नेपवेष्टले प्रस्तुतीकरण गरेको थियो । यद्यपि, सो बैठकले नेपवेष्टलाई फोहोर व्यवस्थापनको जिम्मा दिने भनेर निर्णय गरेन । 

‘अर्काे बैठकमा विस्तृत छलफल गर्ने निर्णय भएको छ,’ मेयर अधिकारीले भने ।

मेयर्स फोरम कुनै पनि निकायलाई ठेक्का दिने कि नदिने भन्ने जस्ता नीतिगत निर्णय गर्ने बैधानिक संयन्त्र होइन । काठमाडौँ उपत्यकाभित्रका साझा समस्याका बारेमा छलफल गरेर साझा धारणा तय गर्ने प्रयोजनको लागि स्थापना भएको लुज फोरममा मेयर बालेन शाहलाई पेल्न खोजिएपछि उनी असन्तुष्ट बनेका बताइन्छ ।

नेपवेष्टः महाप्रसादले छानेको कम्पनी, कांग्रेस र एमालेको साथ

काठमाडौँ उपत्यकाका मेयर र उपमेयरहरुको संस्था मेयर्स फोरमले फोहोर व्यवस्थापनको ठेक्का दिन प्रयास गरिरहेको संस्था अहिले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी लगानी वोर्डको प्रमुख कार्यकारी अधिकृत हुँदा छानेको कम्पनी हो । अधिकारी वोर्डको प्रमुख कार्यकारी अधिकृत हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

वोर्डले २०७४ साल फागुन २३ गते बुधबार काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा नेपवेष्टलाई दिने निर्णय गरेर प्रारम्भिक सम्झौता गरेको थियो । सो सम्झौतामा सम्झौता भएको ६ महिनाभित्रमा आवश्यक तयारी गरेर फोहोर उठाउनु पर्ने भनिएको थियो । सम्झौतामा संकलित फोहोरबाट विद्युत, ग्यास र कम्पोष्ट मल बनाउने भनिएको थियो । यसका लागि पहिलो चरणमा ४ अर्ब ४० करोड रुपैयाँ लाग्ने भनिएको थियो ।

त्यो बेलामा काठमाडौँ महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्य थिए । उनी एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । र, उपाध्यक्ष भने नेपाली काँग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी निर्वाचित भएकी थिइन् ।

मेयर शाक्य र उपमेयर खड्गीको जोडबलमा नेपवेष्टलाई फोहोर उठाउन दिने निर्णय गराउन २०७८ को सुरुतिर निकै चलखेल भएको थियो । त्यतिबेला नेपवेष्टले प्रतिपरिवार ३०० रुपैयाँ लिएर काठमाडौँ महानगरपालिका र आसपासका १३ नगरपालिकाको फोहोर उठाउने भनिएको थियो ।

२ अर्ब ६८ करोडको खेल

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा ठूलो आर्थिक चलखेलको प्रयास हुँदै आएको छ । काठमाडौँ महानगरले यसअघि गराएको एक अध्ययनले २ अर्ब रुपैयाँमा फोहोर व्यवस्थापन हुने भनिएको थियो ।

काठमाडौँ महानगरका मेयर शाक्यको कार्यकालमा एक चिनियाँ कम्पनीलाई फोहोर व्यवस्थापनका विषयमा अध्ययन गराइएको थियो । सो अध्ययनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको लागि २ अर्ब रुपैयाँ लाग्ने देखाएको थियो । र, काठमाडौँ उपत्यकाको फोहोरबाट निरन्तर रुपमा १५ मेगावाट विद्युत उत्पादन हुने र सोही विद्युत विक्रीबाट फोहोर व्यवस्थापन खर्च जुटाउन सकिने भनिएको थियो । सो अध्ययन प्रतिवेदनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन वापत नगरवासीले पैसा तिर्नु नपर्ने भनेको थियो । यद्यपि, नेपवेष्टलाई प्रतिपरिवार मासिक ३०० रुपैयाँका दरले शुल्क उठाएर फोहोर व्यवस्थापनको ठेक्का दिने प्रयास भएको थियो ।

यद्यपि, काठमाडौँ महानगरले नेपवेष्टसँग पिडिए सम्झौता भने गरिसकेको छ । सो सम्झौतामा प्रतिपरिवार २१९ रुपैयाँमा फोहोर उठाउने भनिएको छ । तर, नेपवेष्टसँगको सम्झौता र कम्पनीको योग्यतामाथि प्रश्न उठेका कारण सो कम्पनीसँग थप सम्झौता हुन सकेको छैन । र, अहिले नेपवेष्टले काठमाडौँको फोहोर उठाउँदैन ।

चिनियाँ कम्पनीले गरेको अध्ययनले काठमाडौँको फोहोर व्यवस्थापनमा २ अर्ब रुपैयाँ लागत लाग्ने देखाएपनि नेपवेष्टलाई ४ अर्ब ६८ करोड रुपैयाँ ठेक्कामा फोहोर उठाउन दिन लागिएको थियो । यसो गर्दा २ अर्ब ६८ करोड रुपैयाँ बढी खर्च हुने देखिएको थियो ।

लगानी वोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अधिकारी र काठमाडौँ महानगरका यसअघिको पदाधिकारीले टुंग्याउन नसकेको काम अहिले काठमाडौँ उपत्यकाको मेयर्स फोरमले टुंग्याउने पहल थालेको छ । फोरम जस्तो अनौपचारिक संस्थाले फोहोर व्यवस्थापन जस्तो नीतिगत विषयमा निर्णय लाद्ने देखिएपछि काठमाडौँ महानगरका मेयर शाह फोरमसँग असन्तुष्ट बनेका छन् । तर, उनको यो असन्तुष्टीलाई केही मेयरहरुले ‘बालेनले प्रक्रिया नबुझेको’ भन्ने आरोप लगाएर उनको हुर्मत लिन थालेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update