Odapalika - The Fourth Estate - चौथो अंग
तिहारका लागि स्कुलमै फूल फूलाए नमाेबुद्धकाे जनक माविका विद्यार्थीले 

काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको वडा नम्बर ४ मा पर्ने जनक माध्यामिक विद्यालयका विद्यार्थीले तिहारको लागि फूल उत्पादन गरेका छन् ।

काभ्रेको मेथिनकोटमा रहेको सो विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका हुन् ।

पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो । विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार ३० हजार लगानीमा एक हजार पाँच सय बोट सयपत्री रोपिएको छ । अहिले फूल फुलेर ढकमक्क भएको छ । 

‘करिब दुई रोपनी जग्गामा फूल खेती गरेका छौँ । एक लाख ५० हजार रुपैयाँ आम्दानी हुने  अनुमान छ,’ उनले भने ।

विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उनले बताए । त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ । 

विद्यालयले पहिलो पटक फूल खेती गरेको हो । आगामी वर्षदेखि फूल खेती विस्तार गरिने संयोजक अधिकारीको भनाइ छ । दसैँ तिहार बिदाका कारण रेखदेख गर्न कामदार राखेको उनले जानकारी दिए । विद्यालयले विद्यार्थीलाई दैनिक दुई घण्टा उपार्जनको काममा अनिवार्य काम गर्नुपर्ने विद्यालयले नियम बनाएको छ । त्यसरी काम गरेबापत छात्राबासमा बस्ने विद्यार्थीका लागि खाने र बस्ने निःशुल्क व्यवस्था गरिएको संयोजक अधिकारीले बताए ।

उत्पादन गरेको फूल बिक्रीको टुङ्गो लागिसकेको उनले जानकारी दिए ।

विद्यालयमा पाँच वर्षदेखि पशु विज्ञान विषयमा पठनपाठन गरिँदै आएको छ । विगत दुई वर्षदेखि पढ्दै कमाउँदै कार्यक्रमसमेत लागू गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई यसमा संलग्न गरिएको छ । विद्यालयले सुरु गरेको तरकारी खेतीदेखि धान खेती, कुखुरा र बाख्रापालनसँगै अहिले विद्यालयले दूध उत्पादन गर्ने गरी पशु विज्ञान प्रयोगशालाका लागि भवनसमेत निर्माण गरिसकेको छ ।

विद्यालयले १७ रोपनी जग्गामा खेती गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले पढ्दै कमाउँदै कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न मद्दत पुगेको बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update