Odapalika - The Fourth Estate - चौथो अंग
अध्यक्ष र उपाध्यक्षको झगडामा प्रशासकीय अधिकृतको रामधुलाई !

काठमाडौँ । कपिलबस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधर्री(कुर्मी)ले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि मुक्का प्रहार गरेर घाइते बनाएपछि कर्मचारीहरुले पालिकाको काम ठप्प पार्दै उपाध्यक्षमाथि कारवाहीको माग गरेका छन् । 

बिहीबार अधिकृतको कार्यकक्षमै पुगेर उपाध्यक्ष चौधरीले कार्यकक्षको सिसिटीभी समेत बन्द गरेर हातपात गरेपछि गाउँपालिका यतिवेला तनावमा छ । 

उपाध्यक्षले प्रशासकीय कुटेपनि यो घटनामा मुख्य कारक चैँ अध्यक्ष र उपाध्यक्षबीचको मनमुटाव देखिएको छ । उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतले गाडीको चावी नदिएका कारण सामान्य भनाभन भएको बताएपनि अध्यक्ष र वडाअध्यक्षसहितका कर्मचारीहरु भने उपाध्यक्षको कुटाइबाट प्रशासकीय अधिकृत घाइते भएको बताएका छन् । 

अध्यक्ष स्वयंले पनि उपाध्यक्षले २ मुक्का हिर्काएर घाइते बनाएको र तिहारको शुभकामनाका लागि आएका पत्रकारकै अघि कुटेको बताएका छन् । 

के हो त विवाद ? 

बिहीबार प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली कार्यकक्षमा केही पत्रकारसँग कुराकानी गरिरहेका थिए । त्यहीबेला उपाध्यक्ष चौधरी कार्यकक्षमा प्रवेश गरे । उनले कामको शिलशिलामा बाहिर जानुपर्ने भन्दै अधिकृतसँग गाडीको चावी मागे । 

उपाध्यक्ष चौधरीका अनुसार अधिकृत ज्ञवालीले कार्यक्रमको पत्र देखाउन या गाडी प्रयोग गर्ने अख्तियारी लिएको कार्यपालिका बैठकको निर्णय ल्याएमात्र गाडीको चाबी दिन सकिने बताए । 

चाबी विवाद भएको गाडी भने यसअघि गत बैशाखसम्म उपाध्यक्षले नै चढ्दै आएका थिए । तर उनले पालिकाको गाढी नचढ्ने भन्दै पत्र लेख्दै पालिकालाई नै गाडी फिर्ता गरे । 

अध्यक्ष कमलेशशरण चौधरीका अनुसार ३ दिनसम्म निर्णयमा पुर्नबिचार गर्न भनेपनि नमानेपछि पालिकाले गाडी फिर्ता लिएर प्रमुख प्रशासकीय अधिकृतलाई दिने निर्णय गर्यो । 

बिहीबार भने उपाध्यक्ष चौधरी सोही गाडी प्रयोग गर्न पाउनुपर्ने भन्दै अधिकृतको कार्यकक्षामा चाबी माग्न गए । 

अधिकृतले चावी नदिएपछि सिसीटिभी बन्द गरेर उहाँ (उपाध्यक्ष)ले अधिकृतज्यूलाई मुक्काले हान्नुभएछ । केही पत्रकार साथीहरु नभएको भए टेवुलको सिसाले हान्ने उहाँको योजना रहेछ,’ अध्यक्ष चौधरीले वडापालिकासँग भने । त्यसवेला कार्यालयमा बत्ती गएका कारण जेनेरेटरबाट बिजुली बालिएको थियो । 

तर उपाध्यक्ष चौधरी भने चाबी नदिएपछि सामान्य भनाभन भएको विषयलाई अध्यक्षसमेत मिलेर नियोजित रुपमा कुटपिट कायम गर्न लागिपरेको बताउँछन् । 

अध्यक्ष र उपाध्यक्षबीचको विवाद नौलो भने होइन । वडाभित्र संचालन हुने योजनाको अनुगमनका क्रममा समेत दुइजनाबीच बिवाद छ । १० लाख रुपैयाँभन्दा कमका योजना वडा अनुगमन समितिबाटै अनुगमन गराउने गरी पालिकाले गरेको निर्णयमा उपाध्यक्षको आपत्ति छ । उनले यो निर्णयमा आफ्ना अधिकार कटौती गरेको भन्दै असन्तुष्टि पोख्दै आएका छन् । 

तर अध्यक्ष भने अनुगमनका क्रममा उपाध्यक्षले उपभोक्ता समिति र ठेकेदारलाई दुःख दिने, अनुगमनका क्रममा आफ्ना भाइलाई भेट्न भन्दै रकमको बार्गेनिङ गर्नेजस्ता काम भएपछि १० लाख भन्दा तलका योजना वडाबाटै अनुगमन गराउने निर्णय गरिएको बताउँछन् । र सो निर्णयमा उपाध्यक्षको समेत हस्ताक्षर रहेको दावी गर्छन् । 

तर उपाध्यक्ष भने भ्रष्टाचार गर्ने मनसायले आफुलाई अनुगमनबाट वञ्चित गराउन खोजिएको भन्दै असन्तुष्ट छन् । 

अध्यक्ष र उपाध्यक्षबीच प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयमा समेत चर्को मतभेद छ । जसपाबाट निर्वाचित अध्यक्ष र माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्षबीच राजनीतिक मतभेदसँगै अधिकृत रोज्ने प्रतिस्पर्धा पनि छ । 

हालका प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएपनि अध्यक्षको दवावमा पालिकामै थमौती गरिएको उपाध्यक्षको दाबी छ । 

तर अध्यक्ष भने ७ महिना पनि नबित्दै अधिकृत सरुवा गर्न नहुने भन्दै उपाध्यषको तर्कमा सहमत हुन नसकिने बताउँछन् । 

अध्यक्ष र उपाध्यक्षबीचको विवादबीचको अचानो भने अधिकृत ज्ञवाली बनेका छन् । उपाध्यक्षलाई कारवाही नभएसम्म काम ठप्प पारेर कर्मचारी आन्दोलनमा छन् भने अध्यक्षसमेत उपाध्यक्षमाथि कारवाहीको पक्षमा छन् । 

उनको प्रश्न छ, ‘कानुन हातमा लिन खोज्ने व्यक्तिमाथि कारवाही नभए कसलाई गर्ने त कारवाही ?’

 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update